Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

चिसोमा स्वास्थ्यको ख्याल गरौं

चिसोमा स्वास्थ्यको ख्याल गरौं

जम्मु–कश्मिर माथि रहेको पश्चिमी न्यून चापिय प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा प्रवेश गर्दैछ । यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपात हुने सम्भावना देखिएको मौसम विभागले जनाएको छ । यो प्रणाली अझै केहि दिन सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा समेत मध्यम देखी भारी हिमपातको सम्भावना रहेको औल्याइएको छ ।
उच्च पहाडी र हिमाली भू–भागमा मध्यम देखि भारी हिमपात हुन सक्ने र पहाडी भेगमा हल्का देखि मध्यम वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले हिमपात र चिसोबाट बच्न सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा विभागले अनुरोध गरेको छ ।
चिसो मौसम छ । तराईमा शीतलहरले जनजीवन प्रभावित पारिरहेको छ भने पहाडी क्षेत्रमा घट्दो तापक्रमले दैनिकी कष्टकर बनाइरहेको छ । चिसोबाट मानिसमा के कस्तो रोग लाग्न सक्छ र यसबाट कसरि बच्न सक्न्छि भन्नेबारेमा चिकित्सकहरु विभिन्न सुझाव दिने गरेका छन् ।
चिकित्सकहरुका अनुसार गर्मीको तुलनामा जाडोमा ब्लड प्रेसर अचानक बढ्छ । ब्लड प्रेसर अचानक बढ्ने समस्याले नै हृदयाघात निम्त्याउने गर्दछ । परिणामस्वरुप केही दिनअघि तन्दूरुस्त देखिएको मानिसको अप्रत्यासित रुपमा निधन पनि हुन सक्छ ।
चिकित्सकहरुका अनुसार मुटुसम्बन्धी रोगले पहिला नै सताइसकेका वृद्धवृद्धालाई जाडो मौसममा जोखिम बढ्ने गर्दछ । जाडो मौसममा शरीरलाई गर्मीको जरुरी हुन्छ । शरीरमा गर्मी उत्पन्न गराउन मुटुले बढी काम गर्नुपर्ने हुन्छ, जसले गर्दा हृदयाघातको खतरा हुने चिकित्सकहरुको भनाइ छ ।
मधुमेहका बिरामीलाई पनि जाडो मौसममा थप चुनौती सामना गर्नुपर्ने हुन्छ । जाडोका कारण पानी कम पिउने, एक प्रकारले जाडोमा मानिसको जीवनशैली नै परिवर्तन हुने भएकाले शरीरमा सुगरको मात्रा बढ्ने चिकित्सकहरुको भनाइ छ । जाडोमा शारीरिक गतिविधि कम हुने, प्रदूषणको मात्रा बढ्ने र खानपिनमा पनि माछा–मासुको उपभोग बढ्ने भएका कारण मधुमेहका रोगीलाई समस्या हुन सक्ने चिकित्सकहरु बताउँछन् ।
अर्थोपेडिक चिकित्सकहरुका अनुसार चिसो मौसममा जोर्नीसम्बन्धी समस्या पनि बढ्ने गर्दछ । शीतलहर तथा कुहिरोका कारण शरीरले पर्याप्तमात्रामा सूर्यको किरण नपाउनाले नै यस्ता समस्या जाडोमा बढी हुने गर्दछ । जाडोमा शरीरमा ‘भिटामिन डी’को कमी हुन नदिन विशेष सतर्कता अपनाउनु पर्ने चिकित्सकहरु बताउँछन् ।
बाहिर निस्कनै पर्ने अवस्थामा टोपी, पञ्जा, मोजालगाएर शरीरको सबैजसो अङ्ग ढाकेर निस्कनुस, ताकि शरीरको तापक्रम घट्न नपाओस् । धुम्रपान तथा मदिरा सेवन नगर्नुस् । मनतातो पानी पटक–पटक गरी ५–६ गिलास पिउने गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । जाडो मौसममा फलफुल तथा विभिन्न प्रकारका सुप खाएर पनि शरीरलाई ‘मेन्टन’ गर्न सकिन्छ । मह सेवनले पनि शरीरको तापक्रम बढाउन मद्दत गर्छ । कार्बोहाइड्रडको मात्रा कम भएको खानेकुरामा ध्यान दिनुपर्छ । सबैले यो बेला आफ्नों स्वास्थ्यमा सचेतना अपनाऔं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: